काठमाडौ, ५ असार २०८२ ।
स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको पाँचौं खेलमा नेपालले नेदरल्याण्डलाई ६ विकेटले पराजित गर्दै पुनरागमन गरेको छ ।
अघिल्लो खेलमा लगातार तीन सुपर ओभरपछि हार ब्यहोरेको नेपाली टोलीले यस पटक विशाल लक्ष्य पछ्याउँदै शानदार जित निकालेको हो ।
नेदरल्याण्डले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन बनाएको थियो ।
माईकल लेविटले ५३ बलमा ८६ रनको आक्रामक पारी खेलेका थिए भने रोलोफ भान डर मर्वेले २१ बलमा अविजित ३६ रन बनाए ।
नेपालका लागि करण केसीले दुई विकेट लिँदा दिपेन्द्र सिंह ऐरी र रूपेश कुमार सिंहले समान एक–एक विकेट लिए ।
१७५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउन मैदान उत्रिएको नेपालले १९.४ ओभरमै ४ विकेट गुमाएर लक्ष्य भेटायो ।
कुशल भुर्तेलले ५१ बलमा ६५ रनको उत्कृष्ट पारी खेले भने आरिफ शेखले २३ बलमा ३९ रन र भीम शार्कीले १६ बलमा २७ रन बनाए।
टस जितेर बलिङ रोजेको नेपालले योजना अनुसार प्रदर्शन गर्दै उत्कृष्ट जित निकालेको हो ।
सिरिज अन्तर्गत आज नेपालले स्कटल्याण्डसंग अन्तिम खेल सांझ ७:४५ बजे खेल्दैछ ।
