
बुद्धभूमि कपिलवस्तु सेवा समाज कतारको चौथो अधिवेशनबाट श्रीधर राजा पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।
शुक्रबार, २५ सेप्टेम्बर २०२६ मा दोहास्थित लालीगुराँस रेस्टुरेन्टमा सम्पन्न अधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। पौडेल यसअघि समाजको महासचिवका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका थिए।
अधिवेशन लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष साजन लौदरीको प्रमुख आतिथ्य तथा बुद्धभूमि कपिलवस्तु सेवा समाज कतारका निवर्तमान अध्यक्ष बिबस बेलबासेको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण संस्थाका महासचिवसमेत रहेका नवनिर्वाचित अध्यक्ष श्रीधर राजा पौडेलले गरेका थिए।
कार्यक्रममा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारअन्तर्गतका विभिन्न जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूका साथै कतारमा स्थापित विभिन्न सामाजिक, जातीय तथा वैचारिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न जिल्ला संस्थाका अध्यक्षहरूले शुभकामना तथा मन्तव्य व्यक्त गरेका थिए।
त्यसैगरी, समाजसेवी तथा सामाजिक अभियन्ताहरू सागर नेपाल, के.बी. हमाल, बुद्ध पाण्डेलगायतको पनि उपस्थिति रहेको थियो।
अधिवेशनको खुला सत्रमा कतारमा रहेका नेपाली कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। रेस्मी सेन्चुरीलगायत कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
खुला सत्रपछि सम्पन्न बन्द सत्रले श्रीधर राजा पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवनिर्वाचित कार्यसमिति
१. अध्यक्ष – श्रीधर राजा पौडेल
२. वरिष्ठ उपाध्यक्ष – राजेन्द्र भुसाल
३. उपाध्यक्ष – यादव खनाल
४. महिला उपाध्यक्ष – सरस्वती भट्टराई
५. महासचिव – सुधीर विक्रम जिसी
६. सचिव – लक्ष्मण पोख्रेल
७. सह–सचिव – देवबहादुर भर
८. कोषाध्यक्ष – परशुराम खनाल
९. सह–कोषाध्यक्ष – रामचन्द्र पौडेल
सदस्यहरू :
१०. गीता खनाल
११. लक्ष्मी के.सी.
१२. भेषराज बेल्वासे
१३. विष्णु बेल्वासे
१४. खुमानन्द बेल्वासे
१५. छविलाल बेल्वासे
१६. भिमार्जन पौडेल
१७. प्रदीप भुसाल
वि.सं. २०७२ (सन् २०१५) मा स्थापना भएको बुद्धभूमि कपिलवस्तु सेवा समाज कतारले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपाली श्रमिकको उद्धार तथा राहतमा सहयोग गर्दै आएको छ। साथै, गृहजिल्ला कपिलवस्तुमा दैवी प्रकोप, विपत्ति, स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोग तथा परोपकारी गतिविधि सञ्चालन गर्दै आएको समाजले जनाएको छ।
चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न गर्दै आफ्नो कार्यकाल पूरा गरेको निवर्तमान अध्यक्ष बिबस बेलबासे नेतृत्वको कार्यसमितिलाई धन्यवाद व्यक्त गरिएको छ। साथै, नवनिर्वाचित अध्यक्ष श्रीधर राजा पौडेलसहित नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिइएको छ।
नयाँ नेतृत्वले कतारमा रहेका कपिलवस्तुवासी नेपाली समुदायबीचको एकता, सहकार्य र सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिँदै संस्थालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
