Home समाचार गुल्मीको इस्मा–३ ठाढुङ्गामा हाटबजार सञ्चालन, पहिलो दिनमै ३० हजार रुपैयाँको कारोबार

गुल्मीको इस्मा–३ ठाढुङ्गामा हाटबजार सञ्चालन, पहिलो दिनमै ३० हजार रुपैयाँको कारोबार

0

गुल्मि जिल्लाको इस्मा–३ ठाढुङ्गामा हाटबजार सञ्चालन आए सङ्गै पहिलो दिनमै ३० हजार रुपैयाँको कारोबार भएको छ।



स्थानीय कृषि उत्पादनको बजारीकरण, कृषकको आयवृद्धि तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले गुल्मी जिल्लाको इस्मा गाउँपालिका–३, ठाढुङ्गामा नियमित हाटबजार सञ्चालनमा ल्याइएको छ। असार २७ गते बिहीबार बिहान ११ बजे ठाढुङ्गा खेलमैदानमा आयोजित औपचारिक कार्यक्रममार्फत हाटबजारको शुभारम्भ गरिएको हो।

हाटबजारको उद्घाटन इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले ब्यानर उद्घाटन गर्दै गर्नुभएको थियो। वडा नं. ३ का वडा अध्यक्ष ज्योतिराज कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष शेरबहादुर कुँवर र वडा नं. ४ का वडा अध्यक्ष राजु बस्नेतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा दर्लामचौर मूल कृषक समूहका अध्यक्ष कमल घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव त्रिविक्रम खत्री (के.सी.)ले गर्नुभएको थियो।

हाटबजार सञ्चालनको पहिलो दिनमै करिब ३० हजार रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ। पहिलो दिनको उत्साहजनक सहभागिताले स्थानीय कृषक तथा व्यवसायीहरूमा थप उत्साह थपेको छ।
यस हाटबजारमा स्थानीय किसानहरूले आफ्नै खेतबारीमा उत्पादन गरेका ताजा तरकारी, फलफूल, अन्नबाली, पशुपन्छी तथा विभिन्न घरेलु उत्पादनहरू उपभोक्तासम्म प्रत्यक्ष रूपमा बिक्री गर्न सक्नेछन्। यसबाट बिचौलियाको भूमिका घट्दै कृषकले आफ्ना उत्पादनको उचित मूल्य पाउने अपेक्षा गरिएको छ।
यसअघि वडा कार्यालयले असार २१ गते सूचना जारी गर्दै सम्पूर्ण वडाबासी तथा छिमेकी गाउँका नागरिकलाई हाटबजारमा सहभागी हुन आह्वान गरेको थियो।
स्थानीय तहका अनुसार यस्तो हाटबजारले गाउँस्तरमा आर्थिक गतिविधि बढाउनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धन, कृषकको आम्दानी वृद्धि र ग्रामीण अर्थतन्त्रलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version