२३ पुस, गोरखा । गोरखा जिल्ला स्थित हिमाल पारी रहेका गाउँपालिका चुमनुब्री गाउँपालिकामा आजबाट कर सेवा सुरु भएको छ । नेपाल सरकारको कार्तिक १७ गतेको मन्त्रीपरिषद बैठकले कर सेवा कार्यालय खारेज गर्ने निर्णय गरेको थियो । पालिकाबाट नै सेवा प्रदान गर्ने गरी आज बुधबारबाट आन्तरीक राजश्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत नारायण प्रसाद भण्डारी र चुमनुब्री गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछाने वीच समझादी पत्र (MOU) मा हस्ताक्षर भएको छ । समझदारी पत्रमा हस्ताक्षर भएलगतै आज बाट नै सेवा सुचारु भएकाे अधिकृत लामिछानेले जानकारी दिनुभयाे ।

सम्झौतामा उल्लेख भए अनुसार पालिकाले व्यक्तिगत स्थायी लेखा नम्बर (PAN) सम्बन्धी सेवा, व्यवसायिक स्थायी लेखा नम्बर (BUSINESS PAN ) सम्बन्धी सेवा, मूल्य अभिवृद्धि कर (Value Added Tax – VAT) दर्ता तथा व्यवस्थापन, एकीकृत कर प्रणाली (Integrated Tax System) सम्बन्धी सेवा, सेवाग्राहीलाई Integrated Tax System मा पहुँचका लागि User ID / Password उपलब्ध गराउने छ । उक्त प्रणाली प्रयोग गर्दा प्रचलित कानुन, नियम तथा निर्देशन पालना गर्नुपर्नेछ ।

पालिकाले करसेवा सम्बन्धी काम गर्नका लागि एकजना सम्पर्क व्यक्ति तोक्ने छ । Integrated Tax System को प्रयोग, व्यवस्थापन तथा समन्वयका लागि सेवाग्राहीले एक जना सम्पर्क व्यक्ति तोकिने भएको हो ।

सम्पर्क व्यक्तिले कर प्रणालीसम्बन्धी सम्पूर्ण सूचना, कागजात तथा समन्वयको जिम्मेवारी लिनेछन् । यस अघि उक्त सेवा लिनका लागि हप्तादिन भन्दा धेरै लगाएर गोरखा बजार आउनुपर्ने बाध्यता रहेको थियो । गाउँमा नै कर सम्बन्धी सेवा पाउने भएपछि यहाँका स्थानीय नागरिकहरु खुशी भएका छन् । चुमनुब्रीमा कर सम्बन्धी काम हुनु भनेकाे राम्राे कुरा हाे, कर सम्बन्धी काम लिएर काठमाण्डाै, पाेखरा, दमाैली, गाेरखा जानुपर्ने अवस्थाकाे अन्त भएकाे पालिका अध्यक्ष निमा लामाले बताउनुभयाे ।
यस अघि मँगलबार एक सूचना जारी गर्दै करदाता सेवा कार्यालय गोरखाले आफूले गर्दै आएका काम पुस २३ गतेबाट पूर्ण रुपमा बन्द गरिएको सूचना जारी गरेको थियो । आफूहरुले सम्पादन गरेका काम आगामि दिन कोष तथा लेखा नियन्त्रण कार्यालय, गोरखा, गोरखाका पालिका नगरपालिकाबाट हुने जनाएको थियो ।

याे खबर तयार गर्दा सम्म सरकारले कर सम्बन्धी सेवा विकेन्द्रित गरेपछि पालिकाबाट सेवा सूचारु गर्ने पालिका चुमनुब्री गाउँपालिका गाेरखा गण्डकी प्रदेशमा प्रथम भएकाे छ ।