
२७ पुस, गोरखा । अठारसय खोला वचत तथा ऋण सहकारी सँस्था लि.को १७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको उद्घाटन पूर्व राज्यमन्त्री, सँविधानसभा सदस्य माननीय छम बहादुर तमुले गर्नुभएको थियो ।
सहकारीकी अध्यक्ष तारा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष राम बहादुर गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो ।
प्रमुख अतिथि छम बहादुर तमुले अठारसय खोला वचत तथा ऋण सहकारीले उत्तरी गोरखाका साथीहरुलाई एकजुट बनाइ आर्थिक, सामाजिक गतिविधिमा सक्रिय गराएको बताउनुभयो । सहकारीबाट नै हरेक कुराको विकास सम्भव हुने उहाँको भनाई छ । व्यवस्थित र वैद्यानिक रुपमा सञ्चालन भएको अठारसय खोला बचत तथा ऋण सहकारी बजारमा हल्ला चलेका सहकारी भन्दा फरक र परिपक्व रहेको बताउनुभयो । सहकारीहरुलाई यो स्थानसम ल्याउन सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।

चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले उत्तरी गोरखाका दाजुभाई दिदि वहिनीहरुलाई समूहमा मिलेर काम गर्न सहकारीले एकताको सुत्रमा बाँधेको बताउनुभयो ।
सिटीइभिटीका पूर्व उपाध्यक्ष डाक्टर कुल बहादुर बस्नेतले सहकारीलाई ज्ञानबाट आर्जन गर्न सकिने अवस्थामा लैजानुपर्ने बताउनुभयो ।
सँस्थापक सदस्य एवँ धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले सहकारीलाई अघि बढाउन सहकारीबाट पैसा इन र आउट भइरहनुपर्ने बताउनुभयो । बचत मात्रै गर्ने लगानी नगर्ने, ऋण नलैजाने र बैँकमा पैसा जम्मा गरेर राख्ने गर्दा सहकारी चल्दैन, दोहोरो कारोवार गर्न सेयर सदस्य साथिहरुलाई आग्रह गर्दछु, गुरुङले भन्नुभयो ।

आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङले आफूले पनि यसमा सदस्य भएर काम गर्न पाउँदा खुशी लागेको बताउँदै दुखमा सबैलाई सहकारीले साथ दिएको बताउनुभयो । हामीहरुले दुखका समय जमानी पनि बसेका छौँ, त्यो कुरा हेक्का लागि समयमै आफूले लिएको ऋण तिर्न सेयर सदस्यहरुले ध्यान दिनुहोला अध्यक्ष गुरुङले भन्नुभयो । गएको आर्थिक वर्षमा सहकारीले ३४ करोड ९ लाख, दुइ हजार ७२१ रुपैयाँ को कारोवार गरेको लेखा समितिका सँयोजक डिल बहादुर गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा उत्कृष्ट वचतकर्ता, उत्कृष्ट ऋणी, शिक्षामा राम्रो गर्ने सेयर सदस्यका सन्तानहरुलाई पुरस्कृत गरिएको थियो ।
वार्षिक साधारणसभाले इमानसिँ गुरुङको नृतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । तुल्सी गुरुङको सँयोजकत्वमा तीन सदस्यी लेखा समिति गठन गरेको छ । जसको सदस्यमा सोम बहादुुर गुरुङ र दुर्गा गुरुङ रहनु भएको छ ।