Homeगण्डकी प्रदेशघोषित मितिमै निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता: नेकपा नेता श्रेष्ठ

घोषित मितिमै निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता: नेकपा नेता श्रेष्ठ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनःस्थापना अहिलेको राजनीतिक आवश्यकता नभएको स्पष्ट गर्दै देशलाई स्थिरतामा लैजानका लागि घोषित मितिमा निर्वाचन सम्पन्न गर्नु नै सबैभन्दा उपयुक्त र समयसापेक्ष कदम भएको बताउनुभएको छ ।

गोरखामा आयोजित पार्टी एकता सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले हाल सर्वोच्च अदालतमा दायर भएको प्रतिनिधिसभा पुनःस्थापना सम्बन्धी मुद्दाबारे टिप्पणी गर्दै त्यसको निर्णय अदालतकै जिम्मेवारी भएको, राजनीतिक दलको हस्तक्षेपको विषय नभएको बताउनुभयो।

‘प्रतिनिधिसभा पुनःस्थापना गर्ने कि नगर्ने भन्ने कुरा अदालतले तय गर्ने हो,’ नेता श्रेष्ठले भन्नुभयो, ‘तर यदि अदालतले पुनःस्थापना गर्ने निर्णय गर्‍यो भने पनि त्यो संसद् अल्पकालीन हुनुपर्छ। स्थायी स्वरूपमा संसद चलाउने नाममा फेरि राजनीतिक अन्यौलता र ठूलो द्वन्द्व सिर्जना भयो भने देश थप संकटतर्फ धकेलिन्छ।’

श्रेष्ठका अनुसार अदालतले पुनःस्थापना गरेमा त्यस संसद्को भूमिका संवैधानिकता प्रदान गर्ने, निर्वाचन तथा संविधान संशोधन सम्बन्धी पूर्वतयारी मिलाउने जस्ता सीमित काममा मात्र केन्द्रित हुनुपर्नेछ। ‘हामी स्पष्ट छौँ—त्यो संसद् स्थायी भएर बस्ने उद्देश्यले होइन, व्यवस्थापकीय र संक्रमणकालीन कामका लागि मात्र हुनुपर्छ,’ उहाँले जोड दिनुभयो।

कार्यक्रममा बोल्दै श्रेष्ठले हाल देशभर उठिरहेको जेनजी (Gen Z) पुस्ताको मागलाई जायज ठहर गर्दै युवापुस्ताको परिवर्तनको आकांक्षा र राजनीतिक सहभागितालाई देशले सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो। ‘जेनजीको आवाज दबाउने होइन, उनीहरूले उठाएका मुद्दा बुझेर त्यसअनुसार राजनीतिक नेतृत्वले जिम्मेवारी लिनुपर्छ,’ श्रेष्ठले भन्नुभयो। उहाँका अनुसार घोषित निर्वाचन सफल बनाउन पार्टी प्रतिबद्ध छ र राजनीतिक अनिश्चितता अन्त्य गर्ने सबै दलको साझा दायित्व हो।

नेता श्रेष्ठले आफ्नो सम्बोधनमा वैदेशिक शक्ति र साम्राज्यवादी देशहरू नेपालमा आफ्नो रणनीतिक स्वार्थ पूर्ति गर्न विभिन्न तरिका अपनाइरहेको आरोप पनि लगाउनुभयो। ‘विश्वमै अहिले सबैभन्दा ठूलो भूराजनीतिक दबाब नेपालमाथि छ,’ उनले भने, ‘राजनीतिक प्रणालीलाई बदनाम गर्ने, पार्टी र नेता–कार्यकर्तामाथि आक्रमण गर्ने, चौतर्फी अविश्वास फैलाउने प्रयास भइरहेको छ। यस्तो अवस्थामा राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि परेका चुनौतीप्रति हामी सधैं सतर्क रहनुपर्छ।’ श्रेष्ठका अनुसार वर्तमान सरकारलाई सहयोग गर्दै देशलाई स्थिरता दिने र घोषित मितिमै निर्वाचन गराउने कार्य अहिलेको मुख्य राजनीतिक कार्यभार हो।

कार्यक्रममा नेकपाका अन्य नेता—राजेन्द्र पाण्डे, हितराज पाण्डे लगायतले पनि वर्तमान राजनीतिक परिस्थितिबारे आफ्ना धारणा सार्वजनिक गरेका थिए। अमर तमुको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन विशेश्वर कट्टेलले गरेका थिए। कार्यक्रममा पार्टीका स्थानीय कार्यकर्ता, विभिन्न सामाजिक संघ–संस्था तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة