जेठ २८ गोरखा । हेर्दै डरलाग्दो दोभान पारिको उहिया स्थित तातोपानीको अक्करे भीर फुटाएर नेपाली सेनाले सडक निर्माण गरेको छ । जेठ ११ गतेदेखि सुरु गरिएको काम हाल तीव्र गतिमा अगाडि बढिरहेको सेनाका नायक राजन पाठकले जानकारी दिनुभयो ।

नेपाली सेनाले ब्लास्टिङ (विस्फोट) प्रविधिको प्रयोग गरी उक्त भीर फोडेर सडक निर्माण गरिरहेको हो । असार दोस्रो हप्तासम्म निर्माण कार्य सक्ने लक्ष्य राखिएको भए पनि असारको पहिलो हप्तामै सवारी सञ्चालन हुने गरी काम तीव्र पारिएको पाठकले बताउनुभयो । सडक अवरुद्ध हुँदा यस मार्ग हुँदै चुमनुब्री, लार्के र चुम भ्याली जाने यात्रुहरूलाई लामो र घुमाउरो बाटो प्रयोग गर्नु परेको थियो ।
धार्चे गाउँपालिका वडा नं ३ मा पर्ने यो सडककाे निर्माण कार्य नेपाली सेनाले गरिरहेको छ । निर्माण कार्य छिटो सक्न स्थानीय तहबाट पनि निरन्तर समन्वय भइरहेको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।
सेनाका अनुसार झण्डै ३२ लाख रुपैयाँको लागतमा पहरो फोड्ने काम सम्पन्न भएको छ । ब्लास्टिङ गरिएका भागहरूमा ढुङ्गा मिलाएर सम्म्याएपछि सडक सवारी सञ्चालन योग्य हुने र छिट्टै खुला गरिने नायक पाठकले जानकारी दिनुभयो ।