धनकुटा सेवा समाज कतारले आफ्नो ९औँ अधिवेशनसँगै तीज विशेष चेलीबेटी भेटघाट कार्यक्रम–२०२६ आयोजना गर्ने भएको छ। सामाजिक एकता, आपसी सद्भाव र नेपाली संस्कृतिको संरक्षणलाई जोड दिँदै समाजले कार्यक्रम गर्न लागेको हो।
“धनकुटा सेवा समाज कतारको चाहना, शुद्ध सामाजिक भावना” भन्ने मूल नाराका साथ सन् २००४ मा स्थापना भएको समाजले स्थापनाकालदेखि नै कतारमा रहेका नेपाली समुदायबीच सहकार्य र सामाजिक गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ।
समाजका अध्यक्ष तिल बिक्रम मगर र महासचिव योगेन्द्र बरालका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। उनीहरूले कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
कार्यक्रममा कतारमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार, कलाकार, साहित्यकार, खेलाडी तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध नेपालीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रम सन् २०२६ सेप्टेम्बर १८ शुक्रबार बिहान ११ः३० बजेबाट वेल्फेयर रेष्टुरेन्टको सभाहल, प्लाजा मलमा सुरु हुनेछ।

९औँ अधिवेशनसँगै आयोजना हुने तीज विशेष चेलीबेटी भेटघाटले कतारमा रहेका नेपाली दिदीबहिनीलाई एकै ठाउँमा भेला भएर आपसी आत्मीयता साटासाट गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ। यसले नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समाजले आगामी दिनमा पनि कतारमा रहेका नेपाली श्रमिक तथा समुदायको हितलाई केन्द्रमा राख्दै सामाजिक गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

