तनहुँ, २५ असार । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित प्रसिद्ध पर्यटकीय गन्तव्य ऐना पहरामा निर्माणाधीन ‘स्काइ वाक’ अन्तिम चरणमा पुगेको छ । पर्यटकलाई साहसिक तथा रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्यका साथ स्काइ वाक निर्माण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार पर्यटन हबका रूपमा ऐना पहराको विकास गर्ने दीर्घकालीन योजनाअनुरूप स्काइ वाक निर्माण गरिएको हो । रु १५ लाखको लागतमा निर्माण भइरहेको यो परियोजना केही दिनभित्रै व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।
कूल ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ, जसले गर्दा हिँड्दा रोमाञ्चक र साहसिक अनुभव प्राप्त हुने अध्यक्ष चुमानको भनाइ छ। “हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा हिँड्दा पर्यटकले एक अनौठो साहसिक यात्रा अनुभव गर्नेछन्,” उनले भने ।
उच्च गुणस्तरको निर्माण सामग्री प्रयोग गरी सुरक्षा उपाय अपनाइएकाले डराउनु पर्ने अवस्था नरहेको अध्यक्ष चुमानले बताए। स्काइ वाकको सञ्चालनपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण थपिने विश्वास गरिएको छ। यसले गाउँपालिकाको पर्यटन विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।





