Homeखेलकुदनेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी-२० सिरिज हुने

नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी-२० सिरिज हुने

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल र वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली बीच ऐतिहासिक तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको घोषणा गरेको छ।

क्यानले आयोजना गर्ने यो सिरिज सेप्टेम्बर २७, २८, र ३०, २०२५ मा संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रंगशालामा खेलाइनेछ। 

नेपाली टोलीले टी-२० अन्तर्राष्ट्रिय सिरिजमा दुई पटकको आइसिसी टि २० विश्वकप च्याम्पियन वेस्ट इन्डिजको पहिलो पटक सामना गर्नेछ।

क्यानले आफ्नो विज्ञप्तिमा वेस्ट इन्डिज क्रिकेटलाई उनीहरूको बलियो प्रतिबद्धताका लागि गहिरो कृतज्ञता व्यक्त गरेको छ। 

यो सिरिजले उदाउँदा राष्ट्रहरूमा क्रिकेट विकासलाई सहयोग गर्ने र आइसिसी पुरुष टी-२० विश्वकप छनोटअघि नेपाली टोलीलाई अन्तर्राष्ट्रिय एक्सपोजर प्रदान गर्ने अपेक्षा गरिएको छ। 

त्यसैगरी, एमिरेट्स क्रिकेट बोर्डलाई पनि यो ऐतिहासिक सिरिजको सहजीकरणका लागि धन्यवाद दिइएको छ।

नेपालले आइसिसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटका लागि यसअघि नै तयारी थालेको थियो । यसअघि नेपालले  गत चैतमा हङकङमा भएको चारदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो। 

यस्तै हाल स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले असार पहिलो सातादेखि घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग टी-२० सिरिजमा प्रतिस्पर्धा गर्दैछ। 

त्यसैगरी जुलाईमा नेपाली टोलीले टी-२० विश्वकप छनोटकै तयारीका लागि भनेर श्रीलंका भ्रमण गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि अगस्टमा नेपाली टोली अस्ट्रेलिया पुग्नेछ। अस्ट्रेलियामा नेपालले पाकिस्तान र बंगलादेशको ए टोली सहित बिग ब्यासका खेलाडी सम्मिलित टोलीसँग अभ्यास खेल खेल्नेछ।

सेप्टेम्बरमा नेपाली टोली विश्वकपको तयारी गर्नका लागि युएई जानेछ। युएईमा नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने क्यानले भर्खरै घोषणा गरेको हो । 

त्यसपछि नेपालले अक्टोबरमा ओमानमा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ।

टी-२० विश्वकप २०२६ को एसिया र इस्ट एसिया प्यासिफिकको अन्तिम छनोट अक्टोबर १ देखि ओमानमा हुँदैछ। प्रतियोगितमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। भाग लिने टोलीमा नेपाल र ओमानसँगै जापान, कुवेत, मलेसिया, पपुवा न्युगिनी, कतार, सोमाओ र युएईले प्रतिस्पर्धा गर्दैछन्। नौमध्ये तीन टोली आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्। 

टी-२० विश्वकप २०२६ मा १२ टोली भने सिधा छनोट भइसकेका छन्। जसमा आयोजक भारत र श्रीलंकासहित अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, अमेरिका र वेस्ट इन्डिज छन्। आयोजकबाहेक अरू टोली टी-२० विश्वकप २०२४ को सुपर-८ मा पुगेका कारण छनोट भएका हुन् । वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान छनोट भएका छन्। 

बाँकी आठ टोली क्षेत्रीय छनोटबाट विश्वकपमा पुग्नेछन् । एसिया र इस्ट एसिया प्यासिफिबाट तीन टोली, युरोप र अफ्रिकाबाट दुई दुई टोली तथा अमेरिकन क्षेत्रबाट एक टोली विश्वकप २०२४ मा पुग्नेछन् । 

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة