Minimalistic Soft Header with Bikram Sambat Date and Time
📅

गोरखाको सिद्धदेवी माविमा एसईई नतिजा शून्य, अभिभावकद्वारा विद्यालयमा तालाबन्दी

गोरखा, १५ असार २०८२ । गोरखाको आरुघाट गाउँपालिका–१० मा रहेको सिद्धदेवी माध्यमिक विद्यालयको २०८१ को एसईई नतिजा शून्य आएपछि आक्रोशित अभिभावकले विद्यालयमा तालाबन्दी गरेका छन् ।

उक्त विद्यालयबाट एसईई दिएका सबै १० जना परीक्षार्थी अनुत्तीर्ण भएपछि अभिभावकले विद्यालय प्रशासनको कमजोर शैक्षिक व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै यस्तो कदम चालेका हुन् । स्थानीय उमेश श्रेष्ठका अनुसार, विद्यालय स्थापनाकाल देखिकै सबैभन्दा कमजोर नतिजा आएपछि अभिभावकले प्रधानाध्यापकको राजीनामा माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । साथै, वडा नम्बर १० का वडाध्यक्ष सन्जित श्रेष्ठलाई समेत शैक्षिक गुणस्तर खस्किएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको छ । ध्यानाकर्षण पत्रमा कमजोर पठनपाठन, विद्यार्थीको अपर्याप्त तयारी र प्रशासनिक कमजोरीजस्ता मुद्दा उठाइएको छ ।

स्थानीय सरोज भण्डारीका अनुसार, विद्यालय प्रशासन र शिक्षकले अभिभावकलाई शान्त पार्ने प्रयास गरेपछि निरन्तर वार्ताबाट हाल तालाबन्दी खोलिएको छ । तर, अभिभावकले विद्यालय सुधारका लागि तत्काल ठोस कदम चाल्न माग गरेका छन् ।

उनीहरूले योग्य शिक्षकको व्यवस्था, नियमित पठनपाठन, विद्यार्थीको उचित निगरानी र प्रभावकारी प्रशासनिक जिम्मेवारीको माग गरेका छन् । माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी पनि अभिभावकले दिएका छन् । वडाध्यक्ष श्रेष्ठले नतिजा सन्तोषजनक नभएको स्वीकार गर्दै गत वर्षको तुलनामा विद्यालयको अवस्था कमजोर बनेको बताए । उनले गाउँपालिका अध्यक्ष राजु गुरुङसँग नतिजा कमजोर हुनुका कारणबारे छलफल भइरहेको जानकारी दिए ।

आरुघाट–१० को एकमात्र माध्यमिक विद्यालय सिद्धदेवी माविको पटक–पटक कमजोर नतिजाले स्थानीय बासिन्दा चिन्तित छन् ।अभिभावक र स्थानीयको मागअनुसार विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ । अन्यथा, यो मुद्दाले थप जटिलता निम्त्याउन सक्ने स्थानीयको भनाइ छ ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
1
0
0
0
ताजा समाचार
धेरै हेरिएको
ट्रेन्डिङ
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.