Homeगोरखाका समाचारदुल्लभ माध्यमिक विद्यालय विवादमा सहजीकरण बैठक, ६ बुँदे निर्णय कार्यान्वयन गर्ने सहमति

दुल्लभ माध्यमिक विद्यालय विवादमा सहजीकरण बैठक, ६ बुँदे निर्णय कार्यान्वयन गर्ने सहमति

गोरखा, साउन १३

भिमसेनथापा गाउँपालिकास्थित श्री दुल्लभ माध्यमिक विद्यालयसँग सम्बन्धित विषयमा पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यममा आएका टिप्पणी र विवादलाई मध्यनजर गर्दै गाउँपालिका र विद्यालयबीच सहजीकरण बैठक सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष लोकप्रसाद बनजाराको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समितिका संयोजक, शिक्षा शाखा, विद्यालय व्यवस्थापन समितिका वर्तमान तथा पूर्व पदाधिकारी, वर्तमान तथा निवर्तमान प्रधानाध्यापक, पूर्व प्रधानाध्यापक, आन्तरिक लेखा परीक्षक लगायत १५ जना सरोकारवालाको सहभागिता रहेको थियो।

बैठकले विद्यालयमा देखिएका विवाद समाधानका लागि ६ बुँदे निर्णय गरेको छ। निर्णयअनुसार बैठकमा सहभागी सबै पक्षले आ–आफ्नो कार्यकालका गतिविधि र अनुभवबारे छलफल गरेका छन्।

प्रधानाध्यापक परिवर्तनसँग सम्बन्धित बाँकी जिम्मेवारी तथा विद्यालयका जिन्सी, कागजात र अन्य दायित्व ७ दिनभित्र विधिवत् हस्तान्तरण गर्ने निर्णय गरिएको छ। आवश्यकता परे गाउँपालिकामार्फत प्रहरी प्रशासनको सहयोग लिन सकिने तथा प्राविधिक सहयोग पनि उपलब्ध गराउने उल्लेख गरिएको छ।

विद्यालयको विषयलाई लिएर सामाजिक सञ्जालमा एकअर्काप्रति नकारात्मक टिप्पणी गर्ने, भ्रम फैलाउने तथा व्यक्ति वा संस्थामाथि आरोप–प्रत्यारोप गर्ने कार्य रोक्न सबै पक्ष सहमत भएका छन्। यसअघि सामाजिक सञ्जालमा राखिएका सम्बन्धित सामग्रीसमेत हटाउने निर्णय गरिएको छ।त्यस्तै, विद्यालय प्रशासन, व्यवस्थापन समिति तथा प्रधानाध्यापकसँग सम्बन्धित उठेका विषयलाई आपसी संवादबाट समाधान गर्ने र आवश्यक परे गाउँ कार्यपालिकाको बैठकमा छलफल गरी थप निर्णय गर्ने उल्लेख गरिएको छ।

बैठकले विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालयको बैंकिङ कारोबार व्यवस्थित गर्न आवश्यक प्रक्रिया अघि बढाउने तथा विभिन्न बैंकमा रहेका विद्यालयका खाताहरू बन्द गरी NIMB बैंकको खाता मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।

यसैगरी विद्यालयका सबै महत्वपूर्ण कागजात, व्यवस्थापन समितिका निर्णय तथा अन्य अभिलेख सुरक्षित राख्ने र गाउँपालिका वा सम्बन्धित निकायले अध्ययन तथा अनुसन्धानका लागि माग गरेमा आवश्यक कागजात उपलब्ध गराउने निर्णय गरिएको छ।

बैठकमा भएका निर्णयमा सहभागी सरोकारवालाहरूले हस्ताक्षरसमेत गरेका छन्।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة