
जेठ ३० गते गोरखा। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा शनिबारदेखि पोखरा रंगशालामा गण्डकी प्रदेशस्तरीय तेस्रो टी-२० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। असार ६ गतेसम्म चल्ने उक्त प्रतियोगितामा प्रदेशका ८ जिल्लाले प्रतिस्पर्धा गर्नेछन्।
समूह ‘ए’ मा स्याङ्जा, बागलुङ, तनहुँ र म्याग्दी तथा समूह ‘बी’ मा कास्की, पर्वत, नवलपुर र गोरखा परेका छन् । दुबै समूहका विजेता टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ।
शनिबार पहिलो दिन स्याङ्जा र म्याग्दी बीच बिहान ९ बजे खेल सुरु हुनेछ भने दिउँसो १ बजे तनहुँ र बागलुङ भिड्नेछन् ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले ४ हजार, उत्कृष्ट ब्याट्सम्यान, बलर र उदियमान खेलाडीले जनही २ हजार तथा प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताबाट आयोजकले युवा खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास लिएको छ।


