साउन २५, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ खोर्लाबेशीमा निर्माण सम्पन्न भएको बेलिब्रिज उद्घाटन गरिएको छ । ३४१ मेगावाटको बुढिगण्डकी जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको बजेटबाट निर्माण गरेको हो ।
तिब्बती सीमा जोड्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट लार्के सडकको खोर्लाबेशीस्थित निम्रुङ खोलामा निर्माण गरिएको पुलको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ र टाइम्स इनर्जीका अध्यक्ष हिम पाठकले पुलको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
पुल उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गुरुङले उत्तरी गोरखाको लाइफलाइनका रुपमा रहेको सो बाटोमा पुल निर्माण गरेकामा आयोजनालाई धन्यवाद दिए । साथै समयमै आयोजनाको सुरुवात गरी समयमै सम्पन्न गर्न शुभकामना दिए ।
आयोजनाको प्रवर्द्धक कम्पनी साहस उर्जाका हिम पाठकले आयोजना र गाउँपालिकाको समन्वय र सहकार्य जारी रहने अपेक्षा व्यक्त गरे । साथै उनले पुल बनेपछि आयोजनाको बाँधस्थलसम्म सवारी साधन पुग्न सजिलो हुने भएकाले भदौदेखि नै काम सुरु गर्ने जानकारी दिए ।
कार्यक्रममा चुमनुब्री गाउँपालिका ३ का वडाअध्यक्ष रामकुमार गुरुङ, धार्चेकी उपाध्यक्ष सुनिला गुरुङ, धार्चेका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
पुल ३७ मिटर लामो र ४ मिटर चौडा फराकिलो रहेको छ । सो पुल बनेपछि धार्चे गाउँपालिका वडा नं. १, २ र ३ का बासिन्दा तथा चुमनुब्री गाउँपालिकाका सबै वडाका बासिन्दालाई सदरमुकाम तथा राजधानी लगायतका सहरी क्षेत्र आवतजावत गर्न सहज भएको छ । ‘यसअघि बर्खाका बेला खोर्लाखोला बढेर सवारी साधन चलाउन सकिँदैनथ्यो । अब पुल बनेपछि सजिलो भएको छ’, धार्चे ३ का पूर्व वडाअध्यक्ष इन्द्रप्रसाद गुरुङले भने, ‘अब तातोपानी, दोभानसम्म ढुक्कले हिउँद बर्खै सवारी साधन चल्छ ।’ चुमनुब्रीका बासिन्दा सवारी साधन चढ्न माछाखोलासम्म आइपुग्नु पर्नेमा अब सजिलो भएको उनको भनाइ छ ।
सो जलविद्युत आयोजना चुमनुब्री ३ सल्लेरीमा बाँध बाँधी ७ किलोमिटर सुरुङबाट पानी लगेर धार्चे ३ तातोपानीमा पावर हाउस निर्माण गरिनेछ । यहाँ उत्पादित विद्युत ४५ किलोमिटर पर नुवाकोटको रातमाटे सवस्टेशनमा लगेर केन्द्रीय प्रशारणमा जोडिनेछ ।


