गोरखा, ८ असार २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा गोरखाका कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन् ।
पार्टी स्थापना दिवसको अवसरमा शनिबार बसेको केन्द्रीय समिति बैठकमा उपसभापति स्वर्णिम वाग्लेको प्रस्तावमा उनलाई महामन्त्रीमा नियुक्त गरिएको हो ।
पालुङ्टार नगरपालिका – ९ का बुर्लाकोटी यसअघि पार्टीको सहमहामन्त्री थिए ।
पार्टीका गतिविधि सभ्य, शिष्ट र समयानुकूल हुनुपर्ने पक्षमा सधैं आवाज उठाउँदै आएका उनी युवा नेतृत्व विकासको क्षेत्रमा विगत १७ वर्षदेखि सक्रिय छन् ।
बुर्लाकोटीले गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नं. २ बाट रास्वपाको तर्फबाट उम्मेदवारी दिएका थिए ।
उनको नियुक्तिसँगै पार्टीमा युवा र सुसंस्कृत नेतृत्वको प्रभाव अझ सशक्त हुने अपेक्षा गरिएको छ ।


