१६ असार, गोरखा । प्रेस सेन्टर नेपाल गोरखा नगर समिति अध्यक्षमा मनिष मोक्तान निर्वाचित भएका छन् ।
आज भएको दोस्रो सम्मेलनले मोक्तानको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको निवर्तमान अध्यक्ष अभिषेक तामाङले बताउनुभयो । समितिको उपाध्यक्षमा सन्दिप दवाडी, सचिव अभिषेक राना मगर, कोषाध्यक्ष सलिना थापा मगर, सदस्यहरु, आशा रोका, सह सचिव अस्विन भट्टराई, हिकेश श्रेष्ठ, रोजिना गुरुङ , रेश्मा मियाँ रहनु भएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र गोरखा नगर समितिका अध्यक्ष रामहरी केसी, प्रेस सेन्टर नेपालका गण्डकी प्रदेश महासचिव गुणराज रोका, जिल्ला इञ्चार्ज राजेन्द्र न्यौपाने लगायतले सम्बोधन गर्नु भएको थियो ।
प्रमुख अथिति रहनु भएका नेकपा माओवादी केन्द्र गोरखा नगर पार्टी अध्यक्ष रामहरी केसीले जिल्लामा मौसमी पत्रकार भन्दा पनि यहीँ बसेर दिगो रुपमा काम गर्नेहरुको खाँचो रहेको बताउनुभयो । पार्टीलाई आवश्यक पर्दा काँध थाप्न सक्ने पत्रकार चाहिएको छ, त्यसका लागि प्रेस सेन्टर गोरखा नगर समिति सशक्त रुपमा लाग्नु पर्दछ । पहिलो अधिवेशनबाट निर्वाचित अभिषेक तामाङ (छन्टु) अहिले गोरखामा सबै भन्दा सक्रिय पत्रकार रहेका उनको भनाई छ । सँगठन निर्माण गरेर अघि बढ्दा पार्टीले सँधै सहयोग गर्ने उनले बताए । गोरखा नगरपालिकामा हाम्रो पार्टीका जनप्रतिनिधिहरुले जनपक्षीय कामको निरन्तर प्रचार गर्न र नागरिकहरुलाई सचेत गराउन उनले आग्रह गरे ।
सेन्टरका गण्डकी प्रदेश महासचिव गुणराज रोकाले समाचार लेख्नेहरु पत्रकार हुन् भन्दै पत्रकारको भेषमा भाषण तथा उद्घोषणका कार्यक्रम सञ्चालन गर्नेहरु गैरसरकारी सँस्थाका अधिकारीहरु हुने बताए । गोरखाका नागरिकहरुलाई अफ्ठेरो पर्दा लड्नेहरु प्रेस सेन्टरका पत्रकार भएकाले सेन्टर भित्र रहन सामूहिकता चाहिने उनको भनाई छ ।
सेन्टरका पूर्व केन्द्रीय सदस्य एवँ गोरखा जिल्ला इञ्चार्ज राजेन्द्र न्यौपानेले मिडिया व्यावसायीहरुबाट सँगठन निर्माणको अपेक्षा गर्न नसकिने भएकोले सँगठन नै मुख्य रहने बताए । नेपालमा नै पहिलो पटक स्थापना भएको प्रेस सेन्टर गोरखा नगर समिति आफै स्वात्त रहेकाले नगरभित्रको प्रचारको अधिकार पूर्ण रुपमा प्रेस सेन्टरका सँस्थागत सदस्यहरुलाई हुने बताए । पत्रकारीतामा अघि बढ्न कुनै समस्या नरहेकाले आफ्नो ठाउँबाट डटेर लागि पर्न र आवश्यक पर्दा सल्लाहसुझाव लिन उनको सुझाव थियो । कार्यक्रममा वाइसियल नेपालका गण्डकी प्रदेश सह सचिव समिर तामाङ (विकास) विद्यार्थी नेता सचिन खनाल,वाइसियल नेता छविलाल गुरुङ लगायतको सहभागिता रहेको थियो ।


