काठमाण्डौं, २०८२ असार १३ गते । परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज प्रकाशन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ।
परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजा तयारीको काम अन्तिम चरणमा रहेको र आज बोर्डको बैठक बसी नतिजा प्रकाशनको टुंगो लगाइने बताए ।
सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजासम्बन्धी छलफलका लागि बोर्ड बैठक आज बस्ने तयारी भए पनि समय भने यकिन नभएको जानकारी दिए ।
यस वर्षको एसईई परीक्षा २०८१ चैत ७ देखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
नतिजा लेटर ग्रेडिङ प्रणालीमा आधारित हुनेछ, जहाँ सैद्धान्तिक र प्रयोगात्मक अंक छुट्टाछुट्टै मूल्यांकन गरिन्छ। विद्यार्थीले न्यूनतम ३५% अंक प्राप्त गरेमा उत्तीर्ण हुनेछन्।