Homeसमाचारफागुन २१ गते निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मीको मनोबल उच्च : मन्त्री खरेल

फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मीको मनोबल उच्च : मन्त्री खरेल

राजेन्द्र न्यौपाने

गोरखा, १४ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरूको मनोबल उच्च रहेको बताउनुभएको छ। विभिन्न राजनीतिक परिवर्तनका चरणमा सम्पन्न भएका सबै निर्वाचन सुरक्षाकर्मीहरूको प्रभावकारी सुरक्षा व्यवस्थामै सम्पन्न भएको उल्लेख गर्दै उहाँले यसपटक पनि कुनै शंका नरहेको स्पष्ट पार्नुभयो।

मन्त्री खरेलले पञ्चायत व्यवस्थाको अन्त्यपछि सम्पन्न बहुदलीय निर्वाचन, २०५१ सालको निर्वाचन तथा सशस्त्र द्वन्द्वपछिका निर्वाचनहरू सुरक्षाकर्मीहरूको जिम्मेवार भूमिकाका कारण सफल भएको स्मरण गराउनुभयो। निर्वाचन सुरक्षाका लागि आवश्यक स्रोत–साधनको कुनै कमी हुन नदिने सरकारको प्रतिबद्धता रहेको उहाँको भनाइ छ।

गोरखा जिल्ला हुलाक कार्यालयलाई आज ‘स्मार्ट हुलाक कार्यालय’ घोषणा गर्ने क्रममा मन्त्री खरेलले निर्वाचन हुने–नहुने भन्ने आशंका अन्त्य भइसकेको र यो कुरा सबैलाई विदित रहेको बताउनुभयो। अन्तरिम सरकारका रूपमा आफू मन्त्री भएपछि सकेसम्म योगदान दिन प्रयास गरेको उल्लेख गर्दै उहाँले देशमा राजनीतिक स्थिरता अपरिहार्य भएको धारणा राख्नुभयो।

देशमा भएका राजनीतिक परिवर्तनले पाँच प्रतिशत नागरिकलाई मात्र प्रत्यक्ष लाभ पुगेको उल्लेख गर्दै मन्त्री खरेलले बाँकी ९५ प्रतिशत नागरिकमा समेत सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताउनुभयो। रेमिट्यान्सका कारण देशको अर्थतन्त्र चलेको भए पनि विदेशबाट रेमिट्यान्स भित्र्याउने श्रमिकहरूको अवस्था अझै उस्तै रहेको उहाँको टिप्पणी थियो।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले विदेशी हस्तक्षेपबाट देशलाई जोगाउँदै काठमाडौंलाई राजधानी बनाई सम्पूर्ण नेपाललाई फूलबारीका रूपमा व्याख्या गरेको ऐतिहासिक दृष्टान्त आज पनि प्रेरणादायी रहेको मन्त्री खरेलले बताउनुभयो। गोरखा जिल्लाले आज पुनः नयाँ इतिहास रचेको उल्लेख गर्दै उहाँले देशभरिका हुलाक कार्यालयहरूमध्ये पहिलोपटक गोरखालाई स्मार्ट हुलाक कार्यालय घोषणा गरिएको जानकारी दिनुभयो।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल, जिल्ला समन्वय समिति गोरखाका उपप्रमुख लिलामाया परियार, गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة