गाेरखा
गोरखाको भीमसेन थापा गाउँपालिका–१ का मनोज गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
रास्वपाको प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचन प्रक्रियामा गुरुङको उम्मेदवारीविरुद्ध अन्य कुनै उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
पार्टी संगठनलाई सुदृढ बनाउँदै जनतासँग प्रत्यक्ष जोडिने अभियानमा सक्रिय गुरुङलाई प्रदेश नेतृत्वमा निर्विरोध चयन गरिएको हो ।गोरखाको स्थानीय तहबाट राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका गुरुङले रास्वपाको नीति, विचार र संगठन विस्तारमा योगदान पुर्याउँदै आएका छन् ।
उनले पार्टीलाई जनमुखी, पारदर्शी र जवाफदेही बनाउने अभियानमा आफ्नो भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।गण्डकी प्रदेश सदस्यमा निर्वाचित भएपछि गुरुङले गोरखासहित प्रदेशभर पार्टी संगठन विस्तार, युवाको सहभागिता वृद्धि र जनताका सवाललाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
भीमसेन थापा गाउँपालिकाबाट प्रदेश तहको जिम्मेवारीमा पुगेका गुरुङको निर्विरोध चयनलाई स्थानीय नेता तथा कार्यकर्ताले गौरवको विषयका रूपमा लिएका छन् । उनको निर्वाचितसँगै गोरखाको प्रतिनिधित्व प्रदेश संगठनमा थप बलियो बनेको छ ।