Homeगोरखाका समाचारगोरखामा सार्वजनिक यातायातमा पेशेवर चोरीमा संलग्न तीनजना पक्राउ

गोरखामा सार्वजनिक यातायातमा पेशेवर चोरीमा संलग्न तीनजना पक्राउ

जेठ २८ गोरखा । गोरखामा सार्वजनिक यातायातमा पेशेवर चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक यातायातमा यात्रा गरिरहेका यात्रुहरुको पटकपटक नगद चोरीमा संलग्न भएका शहिदलखन गाउँपालिका–४ ताक्लुङ घरभई चितवन स्थित रत्ननगर नगरपालिका–११ शितलटोल बस्ने बर्ष ४९ का दिपक परियार, बर्ष ३५ का आशिक भूजेल र शहिदलखन गाउँपालिका–४ ताक्लुङ घरभई भरतपुर महानगरपालिका–२, क्षेत्रपुर बस्ने बर्ष ४३ का दाननारायण श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भरत बहादुर बि.कले जानकारी दिनुभयो ।

प्रहरीले लामो प्रयासपछि चोरी संलग्नलाई पक्राउ गरिएको उहाँको भनाई छ । तीनपटकसम्म गोरखा जिल्ला भित्र सार्वजनिक यातायातमा यात्रा गरिरहेका यात्रुहरुको साथबाट रु ३ लाख ५० हजार चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका आरोपितहरुलाई आज जिल्ला प्रहरी कार्यालय गोरखामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । पक्राउ परेकामध्ये श्रेष्ठलाई चितवनबाट र अन्य दुइजनालाई सदरमुकामस्थित लक्ष्मीबजार क्षेत्रबाट पक्राउ गरिएको उहाँको भनाई छ ।

उनिहरुले बि.स २०८१ फागुन ८ गते गण्डकी गाउँपालिका–२ का ७१ वर्षीय गिरीराज पन्तको साथबाट रु एकलाख चोरी गरेको एसपी बि.कले बताउनुभयो । गोरखा बजारबाट बस चढेर लक्ष्मीबजारतर्फ सार्वजनिक यातायात चढेर जाँदै गरेको अवस्थामा पन्तको साथबाट रकम चोरी भएको थियो । त्यस्तै यही जेठ ७ गते गोरखा सदरमुकामस्थित हरमटारी बस्ने ८२ बर्षका गंगाबहादुर श्रेष्ठले भारतीय पेन्सन क्याम्पबाट पेन्सन बुझी घरतर्फ आउदै गर्दा रु २ लाख बसभित्रै चोरी भएको थियो ।

उक्त चोरको घटनामा पनि पक्राउ परेका तीनै जनाको संलग्नता रहेको एसपी बि.क.ले बताउनुभयो । त्यस्तै गरी यही जेठ ११ गते गोरखा नगरपालिकाको लक्ष्मीबजारबाट गोरखा सदरमुकामतर्फ आउदै गरेका बेला सहिद लखन गाउँपालिका–५ घर भएका चोकबहादुर थापामगरको साथबाट रु ५० हजार चोरी भएको घटनामा पनि उनिहरुकै संलग्नता रहेको खुलेको छ । थापामगरले भारतीय पेन्सन क्याम्पबाट पेन्सन बुझेर फर्कदै गर्दा बसभित्रै रकम चोरी भएको थियो ।

चोरीका लागि उनिहरु पटकपटक चितवनबाट गोरखा आउने गरेको समेत खुलेको छ । पक्राउ परेका तीनैजनाले चोरीमा आफ्नो संलग्नता रहेको स्विकार गरिसकेको एसपी बि.कले बताउनुभयो । उनीहरु बिरुद्ध चोरी सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ । घटनाको थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।

यो खवर पढेर तपाईँलाई कस्तो महसुस भयो?
0
0
0
0
0
0
0
مقالات ذات صلة

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

الأكثر شهرة